जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

टिकटकमाथि अमेरिकी प्रतिबन्ध

अमेरिकामा चल्न छोड्यो टिकटक, देखिन थाल्यो यस्तो म्यासेज

ट्रम्पले प्रतिबन्ध खुलाउने आशामा टिकटक

काठमाडौँ– संयुक्त राज्य अमेरिकामा आज (आइतवार) देखि भिडियो शेयरिङ एप टिकटक नचल्ने बनाइएको छ । यसअघि अमेरिकी सरकारले सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले राष्ट्रिय सुरक्षामा पार्न सक्ने सम्भावित जोखिमलाई लिएर लामो समयदेखि टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी थालेको थियो ।

अमेरिकाले टिकटकलाई राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट निकै जोखिमपूर्ण मान्दै आएको छ । अमेरिकी अधिकारीहरुले टिकटकले चीन सरकारलाई अमेरिकी प्रयोगकर्ताका व्यक्तिगत विवरण र गोप्य जानकारी दिँदै आएको आरोप लगाउँदै आएका छन् । तर, टिकटकले भने बारम्बार यो आरोपको खण्डन गर्दै आइरहेको छ । टिकटक र चीन सरकारबीच कुनै सम्बन्ध नरहेको टिकटकले बताउने गरेको छ ।

गत वर्ष अप्रिल महिनामा अमेरिकी कंग्रेसले पारित गरेको कानुनले बाइटडान्सलाई कुनै अमेरिकी कम्पनीलाई टिकटक बेच्न वा प्रतिबन्धको सामना गर्ने विकल्प दिएको थियो ।

कंग्रेसमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका सांसदहरूले यो कानुनको समर्थन गरेका थिए । यद्यपि, टिकटकले उक्त कानुनको विरुद्ध अदालतमा चुनौती दिएको थियो । कंग्रेसको कदमले अमेरिकी टिकटक प्रयोगकर्ताको वाक स्वतन्त्रताको उल्लङ्घन हुने टिकटकको भनाइ थियो ।

हुन त केही अमेरिकीहरुले टिकटक खरिद गर्ने प्रस्ताव पनि गरेका थिए । संसारका धनाढ्य व्यक्ति इलोन मस्क र सबैभन्दा धेरै सब्सक्राइबर भएका युट्युबर मिस्टर बिस्टले टिकटक किन्ने प्रस्ताव राखेका थिए ।

तर, बाइटडान्सले भने यी प्रस्ताव अस्वीकार गरिदिएको थियो । बाइटडान्सको यो कदमले अब टिकटकमाथि प्रतिबन्ध लाग्ने सम्भावनालाई थप मजबुत गराएको थियो । टिकटकले नै अमेरिकामा नचल्ने गरी आफ्नो सिस्टम अपडेट गराएको छ ।

आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर नपर्ने बताइए पनि टिकटकको अपडेट भर्सन अमेरिकी नागरिकले पाउने छैनन् । यसकारण केही समयपछि टिकटक नै नचल्ने अवस्था आउन सक्छ । अर्कातिर टिकटकको वेब भर्सन पनि अमेरिकामा खुलेको छैन ।

अमेरिकी सञ्चार माध्यमका अनुसार प्रतिबन्ध लागू भएपछि अमेरिकामा गुगल र आइफोनको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न नसकिने भएको छ । साथै, प्रतिबन्धका कारण टिकटकका कुनै नयाँ अपडेटहरू पनि उपलब्ध हुनै छैनन् ।

रोचक कुरा त के छ भने, अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेको भोलिपल्टै राष्ट्रपति जो बाइडेनको जिम्मेवारी पनि सकिँदैछ । प्रतिबन्ध आज (आइतवार) लागू हुनेछ भने त्यसको भोलिपल्ट अर्थात्, सोमबार राष्ट्रपति बाइडेनको कार्यकाल सकिनेछ । नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार नै जिम्मेवारी सम्हाल्दैछन् ।

टिकटकमाथि प्रतिबन्ध लगाउने विषय नयाँ राष्ट्रपतिको विवेकमा भर पर्ने ह्वाइट हाउसले यसअघि नै स्पष्ट पारिसकेको छ । त्यसैले, डोनाल्ड ट्रम्पको आगमनसँगै यसबारे के हुन्छ भन्ने स्पष्ट छैन । प्रतिबन्धबारे ट्रम्पले अहिले नै निर्णय गर्न नसकिने र राजनीतिक रूपमा यसको समाधान खोज्ने बताउँदै आएका छन् ।

यसअघि आफ्नो पहिलो कार्यकालमा ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए । तर, पछिल्लो समय भने ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने पक्षमा रहेको बताइन्छ ।

यसअघि ट्रम्पले आफ्नो राष्ट्रपतीय निर्वाचनमा टिकटकले निकै ठूलो सहयोग गरेको टिप्पणी गरेका थिए । त्यसैले, ट्रम्पले टिकटकमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिने अथवा टिकटकलाई थप केही समय चल्न दिने सम्भावना रहेको विश्लेषण गरिएको छ ।

टिकटकले भने कानूनअनुसार अहिले अमेरिकामा टिकटक नचल्ने तर पछि चल्न सक्ने भन्दै आफ्ना प्रयोगकर्तालाई केही समय प्रतीक्षा गर्न अनुरोध गरेको छ । यता अमेरिकी टिकटक प्रयोगकर्ताले यो एपका कारण आफ्नो व्यापारमा फाइदा पुगेको र कतिलाई परिवार चलाउन पनि सहज भएको भन्दै टिकटक बन्द नगर्न आह्वान गरेका छन् ।

शुक्रवार टिकटकले एक भिडियो सन्देश पोस्ट गर्दै अमेरिकाको कानून मान्दै टिकटक नचल्ने हुन लागेको बताएको थियो ।

टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमले टिकटक प्रतिबन्धको समाधान खोज्नेबारे संकेत गरेकोप्रति आभार व्यक्त गर्दै अहिलेका लागि आफ्नो डाटा (भिडियो तथा तस्वीर लगायत) डाउनलोड गर्न दिने सुविधा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?