जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

स्वास्थ्य

अग्न्याशयले कसरी क्यान्सर निम्त्याउँछ ?

हाम्रो शरीरका विभिन्न अङ्गहरुमध्ये एक हो, अग्न्याशय अर्थात् प्यान्क्रियाज । यो एक पाचन अङ्ग हो । खाएको खानेकुरालाई पचाएर जुस निकाल्ने र शरीरमा चिनीको मात्रा व्यवस्थित गर्ने रसायन उत्पादन गर्ने ग्रन्थीलाई प्यान्क्रियाज भनिन्छ ।

यो शरीरको महत्वपूर्ण अङ्गमध्ये एक मानिन्छ । तर प्यान्क्रियाजमा रोग लागेमा खाना पचाउन गाह्रो हुने समस्या निम्तने हुन्छ । त्यसैले प्यान्क्रियाजमा रोग लागेमा खाना पचाउन गाह्रो हुने हुन्छ र प्यान्क्रियाजमा क्यान्सर समेत हुनसक्ने चिकित्सक बताउँछन् ।

खासमा प्यान्क्रियाज शरीरको कस्तो अङ्ग हो ?, यसले के काम गर्छ, यसको क्यान्सर भयो भने कस्ता जटिलताहरु निम्तन्छन्’ लगायतका सन्र्दभमा सर्जिकल अन्कोलोजिस्ट डा. पुण्यराम खर्बुजासँग जोय नेपालकर्मी सुस्मिता फुयाँलले गरेको कुराकानी:

प्यान्क्रियाज के हो ?

प्यान्क्रियाज एक पाचन अङ्ग हो । जसले पाचन रस र हार्मोन उत्पादन गर्छ । खाना पचाउन मद्दत गर्ने यो ग्रन्थीले पाचन इन्जाइमहरु निकाल्न र रक्त सुगर स्तर नियन्त्रण गर्न भूमिका खेल्छ ।

यसका लक्षणहरु के–कस्ता देखा पर्छन् ?

प्यान्क्रियाजको क्यान्सर भएमा पेट दुख्ने, ढाड दुख्ने, सर्जिकल जन्डिस हुने, दुब्लाउँदै जाने, एकै महिनामा पाँच केजी जति तौल घट्ने जस्ता लक्षण देखिन्छन् ।

कस्ता व्यक्तिहरूमा यस्तो समस्याको जोखिम बढी हुन्छ ?

धेरै रक्सी खाने, धुम्रपान गर्ने, मोटोपन र मधुमेहको समस्या भएका व्यक्तिलाई प्यान्क्रियाजको क्यान्सर हुने जोखिम बढी हुन्छ । प्यान्क्रियाजमा लामो समयसम्म संक्रमण भइरहेमा क्यान्सर हुन सक्छ ।

यसको उपचार विधि कस्तो छ ?

प्यान्क्रियाज क्यान्सरको सबैभन्दा पहिलो र उत्तम उपचार शल्यक्रिया नै हो । हेड अफ द प्यान्क्रियाजमा क्यान्सर छ भने ‘ह्विपल शल्यक्रिया’ गर्नुपर्छ । जुन शल्यक्रियामध्ये ठूलो र जटिल शल्यक्रिया भनिन्छ ।

‘ह्विपल सर्जरी’बाट प्यान्क्रियाज क्यान्सर निकालिन्छ । यसको शल्यक्रिया गर्न ८ देखि १० घण्टा समय लाग्छ । शल्यक्रिया गर्न नमिलेको खण्डमा किमोथेरापी र रेडियोथेरापी गरिन्छ । यसले क्यान्सरको लक्षण सुधार गर्न र नियन्त्रण गर्न सहयोग गर्छ ।

एकपटक यो रोग लागेपछि पूर्ण रुपमा निको हुन्छ ?

कुनै पनि क्यान्सर पूर्ण रुपमा निको हुन्छ भन्न सकिँदैन । अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार कुन चरणमा उपचार भएको हो, त्यसमा भर पर्छ । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लागेर राम्ररी उपचार भएमा बिरामी पाँच वर्ष बढी बाँच्ने सम्भावना ८० प्रतिशत हुन्छ । तेस्रो र अन्तिम चरण उपचार भएमा बिरामी दुईदेखि तीन वर्ष मात्रै बाँच्ने सम्भावना हुन्छ । तर त्यसो भन्दैमा उपचार नै नगर्ने भन्ने होइन । शल्यक्रिया गरेपछि कोही व्यक्ति १० वर्षभन्दा बढी पनि बाँचिरहेका छन् ।

कुन चरणमा थाहा हुन्छ ?

नेपालमा प्रायः क्यान्सरका बिरामी दोस्रो, तेस्रो र अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् । अति दुखेपछि वा सहनै नसकेपछि मात्र अस्पताल आउने गर्छन् । यस्तो अवस्थामा बिरामीको उपचारको क्रममा मृत्यु हुने जोखिम बढी हुन्छ ।

अन्तिम चरणका बिरामी अर्थात् अन्य अङ्गमा पनि क्यान्सर सरिसकेकोमा धेरैजसो तीनदेखि ६ महिना मात्र बाँच्न सक्छन् । त्यसैले अस्पतालमा आइसकेपछि मिलेसम्म शल्यक्रियामार्फत उपचार गरिन्छ ।

उपचार खर्च सरदरमा कति लाग्छ ?

सामान्यतया सरकारी अस्पतालमा जटिल शल्यक्रिया गर्न लगभग दुई लाख रुपैयाँ खर्च लाग्छ । क्यान्सर लागेपछि सरदर सबै खर्च जोड्दा १० लाख रुपैयाँ तयार पार्नुपर्ने देखिन्छ । तर अस्पताल अनुसार खर्च फरक पनि पर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?