जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

रवि लामिछानेविरूद्ध कास्की प्रहरीमा ठगी मुद्दाको जाहेरी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ। लामिछानेसहित १८ जना व्यक्तिरकम्पनीविरूद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सोमबार कास्की प्रहरीमा जाहेरी दिएका हुन्।

प्रहरीका अनुसार लामिछानेसहित व्यक्ति र कम्पनीहरूविरूद्ध निवेदन पर्दै आएका थिए। ‘निवेदन यसअघि पनि आएको थियो, आज पुरक जाहेरी परेको हो,’ कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने,’ जाहेरी परेपछि अनुसन्धान गर्ने प्रक्रिया सुरू भएको छ।’

सूर्यदर्शन सहकारीका पीडितले यसअघि नै प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए। अब त्यसमा थप अनुसन्धान थालिने विकले बताए। लामिछानेसहित व्यक्ति र संस्थाविरूद्ध के कति मात्रामा रकम ठगी गरेको भन्नेबारे प्रहरीले खुलाएको छैन।

सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राई हुन्। उनी लामिछानेका व्यावसायिक साझेदार हुन्। लामिछानेले उक्त सहकारीबाट रकम लिएको खुलेको थियो।

यसअघि सूर्यदर्शन सहकारीका सञ्चालक राईसहित १९ जनाविरूद्ध १ हजार ३५ जना बचतकर्ताहरूले ठगीमा जाहेरी दिएका थिए। राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५।१७ रुपैयाँ बिगो माग गरी जिल्ला अदालतमा ठगी मुद्दा दायर भइसकेको थियो।

सरकारी वकिल कार्यालयले राईसहित १९ जना प्रतिवादीसँग बिगोसँगै ८ देखि १० वर्षसम्म जेल सजायको माग दाबी लिएको थियो। उक्त मुद्दामा कोषाध्यक्ष कुमार रम्तेल, एक उपाध्यक्ष र दुई सदस्यलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?