जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पर्वतको बिहादीमा आँखा उपचार केन्द्र सञ्चालन

पर्वत – दक्षिण पर्वतको विकट गाउँपालिका बिहादीमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । बिहादी–४ वहाकीठाँटीमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको हो ।

हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र बिहादी गाउँपालिकाको व्यवस्थापनमा केन्द्र स्थापना गरिएको हो । शुक्रबार केन्द्रको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले उद्घाटन गर्नुका साथै उपचार सेवासमेत प्रारम्भ भएको छ । 

जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पतालमा मात्र सामान्य उपचार सेवा रहेकामा अब गाउँमै सर्वसाधारणले आँखाको उपचार गर्न पाउने भएका छन् । गाउँपालिकाका अध्यक्ष गुरुङले दक्षिण भेगका नागरिकलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । उनले बिहादी र पैयूँ गाउँपालिका सँगै गुल्मीका नागरिकले पनि आँखा उपचार केन्द्रबाट सेवा पाउने बताए । 

“बिहादी गाउँपालिका स्वास्थ्यका दृष्टिकोणले दुर्गम मानिन्छ, यहाँका नागरिकले राम्रो उपचार सेवा लिन पोखरा, पाल्पा वा बुटवल जानुपर्ने बाध्यता छ”, अध्यक्ष गुरुङले भने, “अब विस्तारै सबै रोगको उपचार बिहादीमै हुनेगरी हामीले व्यवस्थापनमा लागेका छौँ ।” उनले गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखाको बिरामी भेट्टिएकाले पनि आँखा उपचार केन्द्र स्थापना गरिएको बताए । 

गाउँपालिका उपाध्यक्ष मिना शर्मा तिवारीले आँखा उपचार केन्द्र स्थापना भएपछि यहाँका धेरै नागरिकले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उन आँखासम्बन्धी रोगका धेरै बिरामी लाभान्वित हुने भन्दै आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए।

आँखा उपचार केन्द्रमार्फत बिरामी परीक्षण, सामान्य शल्यक्रिया, मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिइने भएको छ । गाउँमै यो सेवा उपलब्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको स्थानीय माया शर्माले बताए । 

जिल्लामा सुविधा सम्पन्न आँखा उपचार केन्द्र नहुँदा आँखामा देखिने जटिल समस्या र मोतीयाविन्दुको शल्यक्रियाका लागि पर्वतवासीले निःशुल्क स्वास्थ्य शिविर कुर्नुपर्ने अवस्था तथा पोखरा वा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?