जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

काठमाडौँ। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ। ललितपुरको क्यूएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको उपस्थिति थियो।

चलचित्रमा कप्तान सुब्बाको जीवनको संघर्ष र सफलता देखाइएको छ। चलचित्र यसअघि हङकङ, बेलायत र दक्षिण कोरियामा प्रिमियर भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिए। “विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ, खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो,” उनले भने, “चलचित्र एउटा फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्ताबेज पनि हुनेछ।”

चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बताए। “खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो। खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवर्द्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुहुन्छ भन्नेमा विश्वस्त छु,” अभिनेता राईले भने।

कप्तान सुब्बाका धर्मपिता तथा चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गरे। कप्तान सुब्बालाई काठमाडौँ ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाएका निर्माता श्रेष्ठले सुब्बाको संघर्ष कनाथक चलचित्रको पटकथाभन्दा कम नभएको बताए।

निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए। “खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेका छौँ,” उनले भने, “सुब्बाको जीवनको महत्त्वपूर्ण हिस्सालाई चलचित्रमा समावेश गरेका छौँ।”

चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन्। सुदीप बरालले छायांकन गरेको चलचित्र मिलन श्रेष्ठले सम्पादन गरेका छन्। चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?