जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अञ्जिला हरेक खेलाडीको कथा हो : एन्फा अध्यक्ष नेम्वाङ्ग

काठमाडौँ – अखिल नेपाल फुटवल सङ्घ ‘एन्फा’ का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताएका छन् ।

मंगलवार ललितपुरको लविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताए ।

उनले भने, “चलचित्रमा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ, कप्तान सुब्बाको जस्तो सङ्घर्ष गरेर धेरै खेलाडीले गरेका छन् । यहाँ हामीले आफ्नो बच्चा पनि लिएर आएका छौँ, किनकी चलचित्रले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ । यो हरेक खेलाडी हेर्नु पर्ने चलचित्र बनेको छ ।”

उनले खेलाडीको विषयमा चलचित्र बन्नु प्रसंशनीय रहेको बताउदै निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिए । कप्तान सुब्बाका धर्मपिता समेत रहनुभएका निर्माता श्रेष्ठले यसचलचित्रको सफलताले आगामी दिनमा खेलाडीको विषयमा चलचित्र बनाउन अन्यलाई पनि प्रोत्साहित गरेको बताए ।

“नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रले व्यावसायिक सफलता आर्जन गर्न नसकेका कारण अन्य निर्माताले लगानी गर्न सकेका थिइन् । यद्यपि अञ्जिलाको सफलताले उनीहरूलाई हौसला दिएको छ । मैले कप्तान सुब्बालाई लिएर देखेको सपना पनि छिटै पूरा हुने भएको छ”, निर्माता श्रेष्ठले भने ।

चलचित्रका निर्देशक चाम्सले धेरै खेलाडीको कथा चलचित्रमा आउन योग्य रहेको बताए । “अब आउँदो समयमा खेलाडी वा खेलको विषयमा चलचित्र बन्ने छ, मैले केही चलचित्रको छलफल भएको सुनेको छु । यो एउटा खेलप्रेमीका लागि पनि सुखद खबर हो”, निर्देशक चाम्सले भने ।

आयोजित विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटवल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवानलगायत उपस्थित थियो । नेपालमा यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?