जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

खैरहनीमा विपन्न बालबालिकालाई पोषणमा अनुदान दिइने

चितवन – खैरहनी नगरपालिकाले विपन्न बालबालिकालाई पोषणमा अनुदान दिन थालेको छ । पालिकाले छ महिनादेखि तीन वर्ष उमेरसम्मका विपन्न परिवारका बालबालिकालाई पोषण अनुदान दिन थालेको हो ।

नगरपालिकाले विपन्न परिवारका बालबालिकालाई दैनिक एक अण्डा र एक गिलास दूध बराबरको लागत अनुमानअनुसार दैनिक रु ४० का दरले प्रतिबालबालिका मासिक रु एक हजार २०० अनुदान लाभग्राहीका अभिभावकको बैंक खातामार्फत उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गर्ने अतिविपन्न घरपरिवारका बालबालिकाको पोषणमा सुधार ल्याई सक्षम जनशक्ति विकास गर्न बालबालिकालाई पोषण अनुदान प्रदान गर्न सुरु गरेको नगर प्रमुख शशिकुमार खनियाँले बताए । यस आर्थिक वर्षमा ९७ बालबालिकालाई पोषणबापतको रकम प्रदान गरिएको हो ।

खनियाँले बालबालिकाको पोषण सुधार मुलुकको भविष्य निर्माणको महत्त्वपूर्ण आधार भएको बताए। उनले विपन्न बालबालिकाको पोषण अनुदान सम्बन्धित अभिभावकलाई प्रदान गरिने र प्राप्त अनुदान रकम केबल बाल्यकालीन पोषणमा खर्च गर्नुपर्ने, अनुगमनको क्रममा मद्यपान, धूमपानजस्ता कुलत तथा अन्य घर खर्चमा प्रयोग गरेको पाइएमा अनुदान कटौतीसम्म हुनसक्ने बताए।

नगर उपप्रमुख कविता उप्रेतीले दुई वर्षसम्म बालबालिकाको ८० प्रतिशत र पाँच वर्षसम्म ९० प्रतिशत मानसिक विकास हुने तथा मानसिक र शारीरिक विकासमा पोषणको अत्यन्तै उच्च महत्त्व रहने भएकाले नगरपालिकाले पोषण कार्यक्रम सञ्चालन गरेको बताए ।

विपन्न परिवारका बालबालिकाको पोषण अनुदानका लागि वार्षिक करिब रु १५ लाख खर्च हुने र आगामी वर्षदेखि वार्षिक रु २० लाखभन्दा बढी रकम अनुदानमा खर्च हुने प्रक्षेपण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?