जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

जीवनको सत्यनजिक रहेर बनेको ‘के घर के डेरा : घर नं २’

काठमाडौं- “पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ। तेरो–मेरो के कुरा, के घर, के डेरा ”यी सशक्त हरफ चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजरबाट लिइएका हुन्, जसले जीवनको कटु सत्यलाई दर्शकसामु उजागर गर्छ।

टिजरका शब्दहरूले जीवन अस्थायी हो भन्ने गहिरो सन्देश दिन्छन्। मानिस यो संसारमा पाहुना मात्रै हो भन्ने धारणा प्रस्तुत गर्दै, फिल्मले ‘तेरो–मेरो’ को झमेलामा अल्झिनुको निरर्थकता दर्शाउँछ। अन्ततः सबैजना खाली हात घाट पुग्नुपर्छ भन्ने यथार्थलाई स्वीकार गर्नुपर्ने सन्देश फिल्मले दिन खोजेको देखिन्छ।

निर्देशक दीपेन्द्र के. खनाल का अनुसार, ‘के घर के डेरा : घर नं २’ जीवनको यथार्थमा आधारित कथा हो जुन आम दर्शकसँग जोडिन सक्ने खालको छ। निर्देशक खनालले सधैँ जीवनको नजिक रहने सिनेमा बनाउनुपर्छ भन्ने मान्यता राख्छन्, र यसै सोचमा आधारित रहेर चलचित्र निर्माण गरिएको बताएका छन्।

चलचित्रको कथा बुद्धिसागर द्वारा लेखिएको हो — जो ‘कर्णाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’ जस्ता चर्चित उपन्यासका लेखक हुन्। यो उनको पहिलो पटक लेखिएको चलचित्र स्क्रिप्ट हो।

जेठ २ गते प्रदर्शनमा आउने चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारको दमदार अभिनय देख्न पाइनेछ।

फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसन को संयुक्त प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रको छायांकन कृष्णबहादुर थापा द्वारा गरिएको हो भने कार्यकारी निर्माता युवराज कार्की हुन्। निर्माता टोलीमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन्।

‘के घर के डेरा : घर नं २’ ले नेपाली समाज, मानिसको जीवन यात्रा र अन्तिम सत्यलाई समेटेर दर्शकलाई भावनात्मक र बौद्धिक रुपमा छोउला भन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?