जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

२५ वर्षमा ‘जार’मा गरेको काम चित्त बुझेको छ : झुमा लिम्बू

काठमाडौं- गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ ।

म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र हो जार,” झुमा भन्छिन्, “मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसै जारमा काम गरेँ ।”

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । “२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,” झुमा भन्छिन्, “जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।”

चलचित्र जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ ।प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन् । लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन् । जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।

‘जार’मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन् । १८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ ।

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?