जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

अण्डाको मूल्य उत्पादन लागतको नजिक, किसान चिन्तित

नारायणगढ (चितवन) – गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् ।

अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य निर्धारण गरेको हो । सङ्घले मूल्य समायोजन गरी आजदेखि लागू हुनेगरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ४९५ र मझौला अण्डाको रु ४६५ कायम गरेको छ ।

नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा रु १६ दशमलव ५० पाउने भएका छन् । यो मूल्य अझै लागतभन्दा थोरै कम भए पनि अघिल्लो तुलनामा केही राहत पुगेको किसानको भनाइ छ ।

दाउन्ने, हिमचुली, खिलुङकाली (जनकपुर एग्रो), सुविश, भिज्जु र शिवम् लेयर्सजस्ता फार्मले ठूलो अण्डाको मूल्य प्रतिपेटी रु तीन हजार ६४५ देखि रु तीन हजार ६६० र मझौला अण्डाको रु तीन हजार ४४५ देखि रु तीन हजार ४६० कायम गरेका छन् ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डा उत्पादनमा संलग्न कुखुराको सङ्ख्या घट्नु, पर्यटकको आगमन वृद्धि र स्कुल–कलेज सञ्चालनले माग बढेपछि मूल्य बढेको हो । साथै बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको उहाँले बताउनुभयो ।

“अहिलेको परिस्थिति हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने सङ्केत देखिन्छ,” पोखरेलले भने, “मूल्य बढ्दा किसान उत्साहित छन्, हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।”

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि माग र आपूर्तिको असन्तुलनका कारण मूल्य बढेको बताए । “अब केही दिनमा नै किसानले लागत मूल्य पाउने सम्भावना छ,” उनले भने।

कुखुरापालक तथा उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेलका अनुसार अघिल्लो वर्षको यही समय पनि अण्डाको मूल्य वृद्धि भएको थियो । “अहिले पनि यदि किसानले लागत मूल्य नपाए बाँकी रहेका किसान पनि विस्थापित हुनेछन्,” उहाँले चिन्ता व्यक्त गर्दै भने। विशेषगरी अत्यधिक गर्मीका कारण अण्डा उत्पादन झन्डै २५ प्रतिशत घट्ने गरेको कृषकको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?