जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

एकमहिने स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौँ– हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष एक महिना श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आजबाट समापन हुँदै छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको व्रत आज माघ शुक्ल पूर्णिमाका दिनबाट  समाप्त हुन्छ । 

व्रत बस्ने प्रत्येक महिला (पुरुष पनि) ले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेको परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

आज मध्याह्न कालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर अर्को दिन बिहान फूलपाती नदीमा सेलाएपछि स्वस्थानी व्रत विधिपूर्वक समापन हुन्छ ।

व्रत समाप्तिका दिन श्री स्वस्थानीको पूजा गरी चढाइने एक सय आठ–एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ।

सो अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा नुहाइधुवाइ पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?