जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

विश्वकै महङ्गो मोनालिसाको रहस्यमयी पेन्टिङ, जसले तान्छ पूरै विश्वको ध्यान

काठमाडौं– सन् १८५२ जुन २३ मा मोनालिसाको रहस्यमय मुस्कानबाट प्रभावित भएर एक फ्रान्सेली युवाले होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरे । मोनालिसाको सुन्दरतामा फसेका ती युवकको कोठामा मोनालिसाको नाममा रहेको ‘सुसाइड नोट’ समेत भेटिएको थियो ।

बीसौँ शताब्दीको शुरुतिर फ्रान्सको लुभ्र म्युजियमबाट मोनालिसाको पेन्टिङ चोरी गरेको आरोपमा इटालीका भिसेन्जो पेरुगियालाई फ्रान्सको अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । मोनालिसाका बारेमा यस्ता थुप्रै रोचक किस्सा इतिहासमा सामेल छन् ।

खासमा मोनालिसा कुनै युवती थिइनन् । यो एक ‘पेन्टिङ’ थियो । उक्त पेन्टिङ १४ वर्ष लगाएर इटालीका महान वैज्ञानिक तथा चित्रकार लियानार्दो दा भिन्चीले बनाएका थिए ।

पुनर्जागरण कालका इटालियन चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको यो पेन्टिङ अहिले पनि विश्वभर निकै लोकप्रिय छ । भिन्चीले सन् १५०३ मा यो पेन्टिङ बनाउन शुरु गरेको एक वर्षभित्र उक्त पेन्टिङको धेरै काम सकिसकेका थिए तर अन्तिम रुप दिन उनलाई झण्डै १४ वर्ष लागेको थियो । यो पेन्टिङ सन् १५७७ मा तयार भएको बताइन्छ ।

यद्पधि कतिपय इतिहासकारको भनाइ के छ भने भिन्चीले यो तस्वीर अझै पूर्ण बनाएका थिएनन् । हाल यो पेन्टिङलाई फ्रान्सको लुभ्र म्युजियममा राखिएको छ ।

यो पेन्टिङमा एक युवतीको आधा कदको रुप देख्न सकिन्छ । उक्त पेन्टिङमा युवतीको सुन्दरता छ, जसलाई नाम दिइएको छ मोनालिसा ।

उक्त तस्वीर (पेन्टिङ) मा एक युवतीको निर्दोष आँखा, रहस्यमयी मुस्कान, फराकिलो निधार र रेशमी कपाल देखिन्छ । उक्त पेन्टिङमा उनी एक कुर्सीमा बसिरहेको देखिन्छ भने हातका औँलाहरु समेत वास्तविक लाग्ने खालका छन् ।

चित्रकार भिन्चीले मानव शरीरको संरचनाको अध्ययन गरेको हुनाले पनि उनले यति बेजोड चित्र बनाएको कतिपयको मान्यता छ । यसलाई इटालियन पुनर्जागरण कालको उत्कृष्ट चित्रकलाका रुपमा व्याख्या गर्ने गरिन्छ ।

यो पेन्टिङलाई विश्वमै सबैभन्दा प्रख्यात, धेरै हेरिएको र सबैभन्दा धेरै लेखिएको पेन्टिङका रुपमा लिइन्छ भने विश्वमै सबैभन्दा महङ्गो पेन्टिङ पनि यही हो ।

मोनालिसाको अर्थ पवित्र, वा कुलीन परिवारकी छोरी भन्ने हुन्छ । चित्रकार भिन्चीले २१ इन्च लम्बाइ र ३० इन्च चौडाइ रहेको यो चित्रको शीर्षक भने राखेका थिएनन् । पछि सन् १५५० मा इटलीकै प्रसिद्ध जीवनी लेखक जार्जियो वसारीले यसलाई ‘मोनालिसा’ नाम दिइएको इतिहासमा उल्लेख छ ।

लियानार्दो दा भिन्ची ।

के मोनालिसा वास्तवमै थिइन्?

चित्रमा देखिएकी सुन्दर ती युवती को थिइन् भन्ने हालसम्म पनि स्पष्ट छैन । तथापि यसबारे अझै पनि अनुसन्धानहरु भइरहेका छन् । केही चित्रकारले मोनालिसा भिन्चीले कुनै काल्पनिक पात्रको कल्पना गरेर पेन्टिङ गरेको पनि बताउने गरेका छन् ।

कतिपयले भने तत्कालीन समयमा वास्तवमै मोनालिसा जस्तै एक युवती थिइन् । भिन्चीले तिनै युवतीलाई हेरेर उक्त पेन्टिङ बनाएका थिए ।

इतिहासकार माइक बोगट–लाइरेसेनले आफ्नो पुस्तक ‘हु इज मोनालिसा ?’ मा मोनालिसा अराङ्गो प्रान्तकी इटालियन महिला इसाबेला भएको दाबी गरेका छन् । हालसम्मको अध्ययन अनुसार मोनालिसा एक इटालियन महिला रहेको पाइएको छ तर उनी को थिइन् भने अहिलेसम्म पनि रहस्यको पर्दापछाडि नै छ ।

किन हुन्छ मोनालिसाको चर्चा?

वास्तवमा यो चित्रकला (पेन्टिङ) सँग जोडिएको कथा उत्तिकै रोचक र रहस्यमयी छ । मोनालिसाका बारेमा जति चर्चा, कौतुहल तथा विवाद अहिलेसम्म विश्वको कुनै पनि अन्य कलाकृतिका बारेमा भएको छैन । चित्रमा रहेको मोनालिसाको मुस्कानमा जादुमय रहस्य रहेको धेरैको विश्वास छ ।

यो पेन्टिङमा देखिएकी युवती मान्छेको मुडअनुसार देखिने धेरैको दाबी छ । जस्तो कि, यदि तपाईँ खुशी भएको अवस्थामा हेर्नुभयो भने मोनालिसालाई मुस्कुराएको जस्तो देख्नुहुन्छ । तर, यदि तपाईँ दुःखी भएको अवस्थामा हेर्नुभयो भने पेन्टिङमा भएकी युवती पनि दुःखी भएको अनुभव हुन्छ ।

यही कारणले मोनालिसाको पेन्टिङको व्यापक चर्चा हुने गरेको छ ।

सन् १९८६ को डिसेम्बरमा अमेरिकी बेल प्रयोगशालाकी कम्प्युटर वैज्ञानिक लिलियन स्वाडजले मोनालिसा कुनै युवती नभई भिन्चीले महिलाको रुपमा आफ्नै चित्र कोरेको दाबी गरेकी छिन् । लियोनार्दो दा भिन्ची र मोनालिसाको अनुहार, आँखा, गाला र नाकमा अचम्मको समानता पनि रहेको विभिन्न अनुसन्धानले देखाएको छ ।

यदि मोनालिसाको चित्रमा रहेकी युवतीको अनुहारमा र दाह्री र आखीँभौँ जोडिएपछि पूर्ण रूपमा लियोनार्दो दा भिन्चीको जस्तै देखिने विषयले पनि यस चित्रलाई झन् रहस्यमय र चर्चाको विषय बनाएको छ ।

यद्यपि मोनालिसाको अनुहारमा लुकेको यो रहस्य पत्ता लगाउन कतिले त आफ्नो पूरै जीवन नै लगाएका छन् । र, कालान्तरमा यसको रहस्यबारे पनि खोजी भइरहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?