किन हुन्छ मोतिबिन्दु ?

काठमाडौँ – मोतीबिन्दु बिस्तारै बढ्दै जाने रोग हो र यसले एउटा मात्र वा दुवै आँखामा असर पुर्‍याउन सक्छ।

यो रोग लागेका मानिसहरूमा रङ्गहरू फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशका अन्य स्रोतहरूका वरिपरि गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र राति आँखा नदेख्ने जस्ता लक्षणहरू देखा पर्छन्।

मोतीबिन्दु प्रायः ६० वर्ष उमेर पुगिसकेकालाई हुने गर्छ। तर, बालबालिकामा पनि यसको जोखिम देखिने गरेको छ। मोतीबिन्दु भइसकेपछि अप्रेसन गर्नुको विकल्प छैन।

आँखा रोग विशेषज्ञ डा.इन्दुप्रसाद ढुङ्गेलका अनुसार बच्चामा लाग्ने मोतीबिन्दुमा बच्चा पेटमा हुँदा एक्स-रे गर्ने, एन्टीबायोटिक औषधिहरू खाने, चोटपटक लाग्ने, आमालाई कुपोषण जस्ता समस्या तथा वंशाणुगत गुणका कारण पनि हुने गर्दछ।

उमेर बढ्दै जाँदा आँखामा चोटपटक लाग्दा र आँखामा अरू नै कुनै समस्या छ भने पनि मोतीबिन्दु हुने सम्भावना धेरै हुन्छ। त्यस्तै, सुगरका बिरामीमा मोतीबिन्दु धेरै हुने गरेको छ।

मोतीबिन्दुबाट बच्न गर्भावस्थामै महिलाले विशेष ध्यान दिनुपर्छ। एण्टिबायोटिक औषधि नखाने, चोटपटक लाग्नबाट बच्ने, पोसिलो खानेकुरा खाने, आनुवंशिक लक्षण छ भने जन्मिने बित्तिकै बच्चाहरूको आँखा परीक्षण गर्नुपर्छ।

वयस्क मानिसको हकमा पनि आँखामा चोटपटक लाग्नबाट बच्न, हरियो सागपात, बेला–बेलामा आँखाको परीक्षण गराउने गर्‍यौँ भने मोतीबिन्दुबाट केही हदसम्म बच्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?