जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

चार अग्रणी महिलाको जीवनी समेटिएका सचित्र बालकथाका पुस्तक सार्वजनिक

काठमाडाैँ- राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका चार अग्रणी महिलाहरूको जीवनी समेटिएका सचित्र बालकथाका पुस्तक सार्वजनिक भएको छ ।

पर्यटन उद्यमी अम्बिका श्रेष्ठको निधन भएको ४५ दिनकै बखत आइतबार बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा पुस्तक सार्वजनिक गरिएको थियो । लोकार्पण गरिएका उक्त चार पुस्तकको संग्रहभित्र श्रेष्ठबाहेक न्यायकर्मी सपना प्रधान मल्ल, प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा र गायिका आनी छोइङ ड्रोल्माका जीवन भोगाइहरू समेटिएका छन् । लुज माथेमाका शब्दहरूमा उभिएको यो संग्रह पब्लिकेशन नेपालयले तयार पारेको हो ।

गायिका आनी सांगीतिक कर्ममार्फत परोपकारका क्षेत्रमा पनि सक्रिय छिन् । शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनको उल्लेखनीय योगदान छ । सगरमाथाको शिखर चुम्ने क्षणसम्म पुग्नुअघि दिवंगत आरोही पासाङ ल्हामु शेर्पाले नेपाली समाजमा परम्परादेखि चल्दै आएको विभेदकारी परिस्थितिविरुद्ध निकै संघर्ष गर्नुपरेको थियो ।

कानुनी क्षेत्रमा अग्रता लिइरहेकी सपना प्रधान मल्लले भने विभेदमुक्त समतामूलक समाज स्थापनाका लागि निकै अघिदेखि आफूलाई सक्रिय बनाउँदै आएकी छिन् ।

विमोचन कार्यक्रममा पुस्तक लेखिका माथेमाकी सुपुत्री समाइराले पुस्तक हस्तान्तरण गरेपछि चारैजना पात्र तथा तिनका प्रतिनिधिले पुस्तक सार्वजनिक गरेका थिए । दिवंगत अम्बिका र पासाङ ल्हामुका तर्फबाट उनीहरूका सुपुत्रीहरू क्रमशः संगीता एवं दावाको प्रतिनिधित्व थियो ।

छोरीहरू सबै मामिलामा सक्षम र पूर्ण रहन्छन् भन्ने ज्ञान नै आफ्नी आमाबाट विरासतका रूपमा पाएको संगीता श्रेष्ठले बताएकी थिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले भने केटाकेटीलाई हुर्काउँदाको क्षणदेखि नै अभिभावकले तिनको हक र अधिकारको चेतना प्रदान गर्नुपर्ने औंल्याइन् ।

आनी छोइङ ड्रोल्माले आम केटाकेटीभन्दा आफ्नो बाल्यकाल बेग्लै किसिमको कठोर रहेको जानकारी दिँदै त्यो बेग्लैपनाले नै आफूलाई आजको ठाउँसम्म पुर्‍याएको स्पष्ट पारिन् ।

अर्की पात्र पासाङ ल्हामुकी सुपुत्री दावाले भने आफ्नी आमाले सफलता अघि पनि चारपटक सगरमाथा चढ्ने प्रयास गरिसकेको जस्ता आधारभूत जानकारी पनि आम रूपमा बाहिर नआएको अवस्थामा यो पुस्तकले स–साना बालबालिकालाई तथ्यसँग नजिक्याउने अपेक्षा प्रकट गरिन् ।

लन्डन स्कुल अफ इकोनोमिक्सबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा लैङ्गिक विकास अध्ययन गरेकी लेखिका लुज माथेमाले ‘अदम्य महिलाहरू’ शीर्षकमा शृंखलाबद्ध कथात्मक बालजीवनी लेखन थालनी गरेकी हुन् । त्यसैको पहिलो चरणमा चार नेपाली अग्रणी महिलाहरूको यो संग्रह तयार भएको हो ।

‘हामी केटाकेटी हुँदा हजुरबुवाले आफ्ना अनुभवहरू अनि ठूला मानिसहरूको जीवनबारे कथा सुनेजस्तै गरी चाखलाग्दो ढंगमा भन्नुहुन्थ्यो,’ लेखिका लुज भन्छिन्, ‘उहाँबाटै मिलेको प्रेरणाबाट मैले नेपाली महिलाहरूको गाथा लेख्ने क्रम थालेकी हुँ ।’

अदम्य नेपाली महिलाका यी छोटा अनि सरल कथाहरूमा प्रकाश रञ्जित, शैली मल्ल, न्हुज शाक्यले चित्रहरू तयार पारेका छन् भने प्रवीण अधिकारीले ती कथाहरूको नेपाली अनुवाद गरेका हुन् । एकै पुस्तकमा अंग्रेजी र नेपाली दुवै भाषा पढ्न सकिन्छ ।

‘नेपाली महिलाहरूका संघर्ष र सफलताका कथाहरू कमै भनिएका पाइन्छन्,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसरी शृंखलाबद्ध रूपले बालकथाका रूपमा जीवनी प्रकाशन गर्दा भावी पुस्ताले समेत उनीहरूबाट प्रेरणा लिन सकून् भन्ने उद्देश्यका साथ हामीले यसको शुरुवात गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?