जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

कलाकार तथा साहित्यकार खनालको ‘युद्धमा बिलाएको सपना’ प्रकाशित

काठमाडौँ– कलाकार तथा साहित्यकार रमेश खनालको लघुकथा सङ्ग्रह ‘युद्धमा बिलाएको सपना’ प्रकाशित भएको छ ।

‘अरूपण नेशनल रिसर्च सेन्टर नेपाल’बाट भर्खरै प्रकाशित सङ्ग्रहमा खासगरी युद्धका विविध सन्दर्भहरूलाई लघुकथाको रूपमा प्रस्तुत गरिएको छ । सङ्ग्रहमा ३१ वटा लघुकथाहरू समेटिएका छन् ।

खनालका अनुसार यस सङ्ग्रहका अधिकांश कथाहरू इरान–इराक युद्धमा नेपालीहरूले भोगेका पीडाहरूलाई कथात्मक रूपमा प्रस्तुत गरिएको छ । उनले कुनै कुनै लघुकथामा व्यङ्ग्यहरू पनि झल्काउने जमर्को गरेका छन् । कथाहरू विशेषत समकालीन सन्दर्भका यथार्थ चित्रणहरु इंगित भएका छन् । किताबको मूल्य ५० रुपैयाँ रहेको छ ।

खनाल साहित्य, कला र खेलकुद क्षेत्रमा समेत परिचित व्यक्तित्व हुन् । लामो समय खेलकुद परिषदमा रहेका खनाल ललितकला सिर्जना, नेपाली साहित्य तथा ललितकला विषयमा नै लेखन र समालोचनामा पनि उत्तिकै सक्रिय छन् ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा परिषद सदस्यको कार्यकाल बिताइसकेका उनले ‘अरूपण आर्ट ग्यालरी’ समेत स्थापना गरेर ग्यालरीमा कला प्रदर्शनीसँगै हरेक शनिबार कला सिकाइको कक्षा पनि सञ्चालन गर्दै आइरहेका छन् ।

उनको यसअघि ‘एकमुठी माटो,’ ‘इन्दिराको भ्यागुता’ र ‘स्टिना’ नामक तीनवटा कथासङ्ग्रहहरु प्रकाशित छन् । त्यसैगरी ‘म घाममा पानी पानी हुन्छु,’ ‘तेस्रो झर्को घाम लाग्यो,’ ‘पानी पर्यो,’ ‘उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता’ नामक तीनवटा कविता सङ्ग्रहहरू प्रकाशित छन् । त्यस्तै, उनको ‘उत्तरचेतनामूलक साहित्यिक अध्ययन’ शीर्षकको समालोचना कृति पनि प्रकाशित छ ।

‘कला मन्थन,’ ‘विश्वप्रसिद्ध कला र कलाकार,’ ‘नेपालका प्रसिद्ध कलाकार,’ ‘चन्द्रमानसिंह मास्के,’ ‘कला श्रष्टा,’ ‘विश्वप्रसिद्ध कलाकार माइकल एन्जेलसँग साक्षात्कार,’ ‘विश्वप्रसिद्ध ग्यालरीभित्र फन्को मार्दा,’ ‘कलाचिन्तन कला संस्मरण,’ ‘विश्वप्रसिद्ध महान कलाकार भ्यानगग,’ ‘अमूर्तकला, कलाका योद्धा मास्टर जीवरत्न शाक्य’ जस्ता उनका कलासम्बन्धी कृतिहरू प्रकाशित छन् ।

खनालका अनुसार यही तिहार लगतै ‘लघुकथा समाज, नेपाल’बाट उनको लघुकथा सङ्ग्रहको औपचारिक रुपमा विमोचन कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?