जोय नेपाल - मनोरञ्जन र जीवनशैली समाचार, सेलिब्रेटी, मोडल, फेसन, चलचित्र, गसिप, स्वास्थ्य तथा जीवनयापनका उपयोगी सुझावहरूका लागि तपाईंको एकमात्र गन्तव्य।

   ©2026 Joy Nepal All rights reserved. Developed by : Kantipur Infotech

पोखरामा ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता सञ्चालन हुने

कास्की – देशको पर्यटकीय राजधानी सहर पोखरामा यही पुस ११ गतेदेखि २१ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ प्रतियोगिता सञ्चालन हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

यही पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ ‘सिंगल्स’ र ‘डबल्स’ तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्ष माथि उमेर सूमहमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसेले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि नेपालका विभिन्न प्रदेश र जिल्लाहरुसहित छिमेकी देश भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका मुलुकहरुबाट खेलाडीहरु पोखरा आइपुगेका छन् ।

खुलातर्फ नेपालका शीर्ष वरियताका प्रदीप खड्कासहित जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङ लगायतका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले बताए ।

अधिकारीका अनुसार पुरुष एकलतर्फ ३१ खेलाडी, महिला एकलमा ११ खेलाडी, ३५ वर्षमाथि ३२, ४५ वर्षमाथि २९ खेलाडी, ५५ वर्षमाथि २० जना सहित एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महिला तथा पुरुष एकलतर्फ बिजेताले नगद रु ८० हजार उपबिजेताले रु ४० हजार सहित ट्रफि तथा सेमिफाइन लिस्टले नगद रु २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।

महिला तथा पुरुष डबल्स तर्फ बिजेताले नगद रु ३० हजार उपबिजेताले रु १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक चालिसेले जानकारी दिए ।

यसैगरी ३५ वर्ष माथिको एकलतर्फ बिजेताले नगद रु ६० हजार उपबिजेताले रु ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी ३५ वर्ष माथिको डबल्स बिजेताले नगद रु २० हजार उपबिजेताले रु १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन् ।

आयोजकका अनुसार ४५ वर्ष माथिको एकलतर्फ बिजेताले नगद रु ४० हजार उपबिजेताले रु २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको डबल्स बिजेताले नगद रु २० हजार उपबिजेताले रु १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने बताइन्छ ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले यो प्रतियोगिता नेपालकै टेनिस इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर रुपमा आयोजना भएको र खेल पर्यटन प्रवद्र्धनका लागि सहयोगी भएको बताए । कास्की टेनिस सङ्घका अध्यक्ष राजकुमार गुरुङले प्रतियोगिताले पोखराको खेल पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?